सडक दुर्घटना रोकथाम कसरी ?

सडक दुर्घटना रोकथाम कसरी ?

सडक दुर्घटना रोकथाम कसरी ?

सडक सुरक्षा एउटा सामाजिक क्षेत्र, विकास र जनस्वास्थ्यसँग सम्बद्ध मुद्दा हो, तर यसले आवश्यक ध्यानाकर्षण पाएको छैन नेपालमा। धेरै मानिसको मृत्यु भएका घटनाले मात्र प्रायः व्यापक ध्यान पाउने गरेका छन्, जस्तै– हालै मात्र नुवाकोट तथा दाङमा भएका छुट्टाछुट्टै सडक दुर्घटनाले सञ्चारमाध्यममा उल्लेखनीय स्थान पाए। ती घटनामा ४० भन्दा बढीको मृत्यु र ३० भन्दा बढी घाइते भएका थिए।

यस्ता घटनाप्रति राष्ट्रपतिलगायत शीर्ष राजनीतिक दलका नेताले दुःख व्यक्त गर्ने गरेको, भविष्यमा यस्ता दुःखद घटना रोक्न सरोकारवालालाई ध्यानाकर्षण गर्ने गरेको पाइन्छ, तथापि यस्ता खालका सडक दुर्घटनासम्बन्धी चासो र प्रभाव समयसँगै विस्तारै हराउँदै जान्छन् र अर्को डरलाग्दो सडक दुर्घटना नभएसम्म ती विषयले खासै ध्यान पाउँदैन। विश्व स्वास्थ्य संगठनको हालै प्रकाशित विवरणले नेपालमा सडक दुर्घटनाबाट प्रतिदिन औसतमा १३ जनाको मृत्यु हुने र धेरैजना घाइते हुने गरेको निष्कर्ष निकालेको छ, यद्यपि सडक दुर्घटनालाई प्रमुख मुद्दा बनाई भविष्यमा यस्ता घटना हुन नदिन अहिले पनि सरकार र सरोकारवाला पक्षको ध्यान पुगेको देखिएन।

‘ग्लोबल बर्डन अफ डिजिज’ नामक अध्ययनले नेपालमा सडक दुर्घटना मृत्युको सातौं प्रमुख कारण रहेको तथ्य खुलाएको छ। यसबाहेक मलेरिया, एचआईभी र क्षयरोगले भन्दा सडक दुर्घटनाबाट बढी मानिसको मृत्यु हुने गरेको विवरणमा उल्लेख छ। सबैभन्दा महत्वपूर्ण त सडक दुर्घटनाका कारणले मानिसको अकालमै मृत्यु हुन्छ र कैंयौं घाइते वा अपांग हुन्छन्।

सडक दुर्घटनाका पीडित, उनीहरूका परिवारजन र समाजले भोग्नुपरेका पीडा र आफन्त गुमाउनुपरेको मनोवैज्ञानिक असर अझै कहालीलाग्दो छ। यसका अतिरिक्त सडक दुर्घटनामा अकालमै ज्यान गुमाउने परिवारलाई राहत र घाइतेको उपचार, हेरचाह र पुनर्वासमा ठूलो लागत लाग्ने भएकाले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै आर्थिक भार पर्न जान्छ। संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को सन् २०१८ को प्रतिवेदनअनुसार सडक दुर्घटनाका कारण सन् २०१३ मा कुल गार्हस्थ उत्पादनको ०.८ प्रतिशत अर्थात् १४५ करोड अमेरिकी डलर (१४.५८ अर्ब रूपैयाँ) बराबरको आर्थिक मूल्य गुमाउनुपरेको देखाएको छ। सडक दुर्घटनाका यस्ता सामाजिक र आर्थिक भार असहनीय छन्।

होइन ‘एक्सिडेन्ट’

नेपालमा प्रकाशन हुने प्रायः अंग्रेजी पत्रपत्रिकाले सडकमा हुने घटनालाई ‘एक्सिडेन्ट’ वा ‘मिसहाप’ र दुर्घटनामा संलग्न गाडीलाई ‘इल्फेइटेड’ भनेर लेख्नु सामान्य भइसक्यो। ‘एक्सिडेन्ट’ शब्द नेपाली समाजमा यति व्याप्त भइसक्यो, जो कसैले सडक दुर्घटनाको खबर सुनाउँदा यही शब्द प्रयोग गर्छन्। अप्रत्याशित र समाधान गर्न नसकिने घटनालाई मात्र एक्सिडेन्ट भनिन्छ। अक्सफोर्ड अंग्रेजी शब्दकोशअनुसार ‘एक्सिडेन्ट’ भनेको ‘एक दुर्भाग्यपूर्ण घटना हो, जुन थाहै नपाई र अप्रत्याशित रूपमा हुन्छ।’

सडक दुर्घटनालाई प्रमुख मुद्दा बनाई भविष्यमा यस्ता घटना हुन नदिन अहिले पनि सरकार र सरोकारवाला पक्षको ध्यान पुगेको देखिएन।

सडक सुरक्षा सम्बन्धमा भएका थुप्रै अध्ययनले सडकमा हुने घटनाका कारण पत्ता लगाएका छन्। त्यस्ता घटनालाई समाधान गर्न सकिने कारण पनि उल्लेख गरेका छन्। सडक दुर्घटना गाडीको खराब भाग्य ‘इल्फेइट’ ले निर्धारण गर्दैन। सडक दुर्घटना भाग्यद्वारा निर्धारित पनि हुँदैनन्, बरु तिनका कारण भविष्यवाणी गर्न सकिने र रोकथाम गर्न मिल्ने खालका हुन्छन्। त्यसैले सडक दुर्घटनालाई ‘ऐक्सिडेन्ट’ भन्नु उचित हुँदैन।

 सवारी दुर्घटनाका कारण

सडक दुर्घटनाको केही मुख्य कारण छन्, जस्तै– चालकको व्यवहार, असुरक्षित सवारी साधन, सडक प्रयोगकर्ताको व्यवहार र ट्राफिक नियमको उल्लंघन। तीव्र गति, अनुचित ओभरटेक, मादक पदार्थ, लागुऔषध तथा मनोद्दिपक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सवारी साधन चलाउँदा मोबाइल प्रयोग गर्नेजस्ता चालकको व्यवहार एउटा मुख्य कारण हो। त्यस्तै साइकल यात्री र पैदलयात्रीको व्यवहारका कारण पनि दुर्घटना हुने गरेका छन्। सिट बेल्ट र हेलमेट प्रयोग नगर्दा दुर्घटनाको क्षति बढी हुने गरेको छ।

 समाधानका उपाय

सर्वप्रथम सडक दुर्घटनासम्बन्धी जनचेतना जगाउन जरुरी छ। मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले गर्दै आएको कारबाहीसँगै सचेतना अभियानलाई पनि निरन्तरता दिन आवश्यक छ। यसका साथै लागुऔषध तथा मनोद्दिपक पदार्थ सेवनका जाँच पनि गर्न जरुरी छ। निश्चित गति, सीमा, मोटरसाइकल चालक र पछाडि बस्ने दुवैले हेलमेट प्रयोग, ड्राइभर र अगाडि बस्ने यात्रुले सिट बेल्ट प्रयोग, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोगमा प्रतिबन्धजस्ता नियम लागू गर्न बलियो कानुन आवश्यक छ। त्यसको नियमनका लागि पनि जोड दिन जरुरी छ। त्यस्तै सवारी साधनको सुरक्षा मापदण्ड पनि महत्वपूर्ण छ। सबै सवारी साधनको तोकिएको निकायबाट यान्त्रिक परीक्षण गराउन, सिट बेल्टको उपलब्धता सुनिश्चित गर्न आवश्यक छ।

सुरक्षित प्रणालीको दृष्टिकोण

सडक सुरक्षा सुधारका लागि विश्वव्यापी लोकप्रियता हासिल गरिरहेको ‘सुरक्षित प्रणाली’ को दृष्टिकोण नेपालमा पनि उत्तिकै सान्दर्भिक छ। सुरक्षित प्रणालीको अवधारणाले सडकमा मानिसबाट गल्ती हुन्छ र मानव शरीरसँग दुर्घटनाको धक्का सहन सक्ने सीमित क्षमता भएकाले उनीहरू असुरक्षित छन् भन्ने स्वीकार गर्छ। त्यसैले सडक र सवारी साधन डिजाइनर, निर्माणकर्ता, व्यवस्थापन र प्रयोगकर्ता सबै दुर्घटनाको धक्काका बाबजुद पनि मृत्यु वा गम्भीर घाइते नहुने खालको सुरक्षित सडक बनाउन जिम्मेवार हुनुपर्छ भन्ने मान्यता राखिन्छ।

सुरक्षित प्रणालीमा यातायातसँग जोडिएका सबै पक्ष, सडक र सडकछेउ, सवारीको गति, सवारी साधन र सडकको प्रयोगमा सुधारलाई जोड दिइन्छ। यी सबै पक्षमध्ये एक मात्र असफल भए पनि अन्य पक्षले दुर्घटनामा संलग्न मानिसको सुरक्षा गर्नेछ।

नेपालमा नयाँ सडक निर्माण तीव्र गतिमा भइरहेका छन्। सबै खालका प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखी यी सडक डिजाइन गर्ने अवसर पनि अहिले नै हो। सुरक्षित प्रणालीको दृष्टिकोण सुरुमा महत्वाकांक्षी लाग्न सक्छ, तथापि यो प्रणाली कार्यान्वयन गरेका देशमा अन्य देशमा भन्दा सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्यालाई छोटो अवधिमै ठूलो मात्रामा घटेको ५३ देशमा गरिएको एक अध्ययनले देखाएको छ।

 घाइतेको उपचार र हेरविचार

नेपालमा दुर्घटनामा घाइते भएका थोरैले मात्रै घटनास्थलमा बेलैमा प्राथमिक उपचार पाउने गर्छन्। कमै मात्र घाइते एम्बुलेन्सद्वारा तुरुन्तै स्वास्थ्य संस्थामा लगिन्छन्। यस्तो स्थितिमा गम्भीर घाइतेको घटनास्थलमै वा स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै मृत्यु हुन सक्छ। दुर्घटनास्थलमा घाइतेलाई तत्काल उपयुक्त उपचार तथा हेरविचार र पछि गुणस्तरीय चिकित्सा उपचार प्रदान गर्न सक्ने संयन्त्र प्रभावकारी बनाउन सकेमा जीवन बचाउने सम्भावना बढाउन, चोटको गम्भीरतामा र अपांगता हुन कम गर्न सकिन्छ। त्यसैले सवारी चालक, ट्राफिक प्रहरी, विद्यार्थी, दुर्घटना बढी हुने क्षेत्रका स्थानीय जनतालाई आधारभूत प्राथमिक उपचार र आकस्मिक उद्धारसम्बन्धी तालिम प्रदान गर्न उपयोगी हुनेछ।

हामीले आज गरेको निर्णयले सडक दुर्घटनाबाट भविष्यमा हुने मृत्यु र घाइते हुने स्थितिलाई कम गर्न सहयोग मिल्छ। सडक दुर्घटना न्यूनीकरणको संस्कृति विकास गर्न हामी सबैले ‘ऐक्सिडेन्ट’ शब्द जुन सडक दुर्घटनाको वर्णनका लागि अनुचित छ, त्यसलाई ‘क््रयास’ वा ‘कोलिजन’ वा ‘रोड ट्राफिक इन्जरी’ जस्ता उपयुक्त शब्दले प्रतिस्थापित गर्न जरुरी छ। नेपाल सरकारले बलियो नेतृत्वसँगै ट्राफिक, इन्जिनियर, प्रहरी, स्वास्थ्य र शिक्षासँग सहकार्य गरी सुरक्षित प्रणाली कार्यान्वयन गर्नुका साथै दुर्घटनापश्चात् घाइतेको उपचार पद्धतिमा सुधार गर्न जरुरी छ।

– लेखक युनिभर्सिटी अफ द वेष्स् अफ इङ्ल्यान्डका इन्जरी अनुसन्धानकर्ता हुन्।

-Annapurna

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account