‘हिरोइन मनीषा ठीक लाग्दैन’

‘हिरोइन मनीषा ठीक लाग्दैन’

‘हिरोइन मनीषा ठीक लाग्दैन’

कुनै समय अभिनेत्री मनीषा कोइराला लाखौँकी ‘हार्टथ्रोब’ थिइन्। उनको बाहिरी रूपरङ बलिउड फिल्ममा देखिने गरेजस्तो छैन। नजिकबाट हेर्दा उमेरले नेटो काटिसकेका थुप्रै प्रमाण भेटिन्छन्। तर, करिब पाँच वर्ष लगाएर पाठेघरको क्यान्सरविरुद्ध विजय पाएकी उनमा बाँकी छ त आत्मविश्वास, जो उनको ‘ग्ल्यामरस लुक’भन्दा कैयौँ गुना शक्तिशाली लाग्छ। आत्मबलकै कारण क्यान्सरको लडाइँ जितेकी मनीषाले यही विजय कथालाई ‘हिल्ड’शीर्षकको किताबमा लिपिबद्ध गरेकी छिन्। किताब आउँदो शनिबार पोखरामा सार्वजनिक हुँदै छ। यसैको सार्वजनिकीकरणका लागि नेपाल आएकी मनीषासँग ‘सम्पूर्ण’का लागि सामीप्यराज तिमल्सेनाले खुलस्त संवाद गरेका छन्। 


तपाईंसँग दुनियाँलाई सुनाउन थुप्रै कथा थिए। क्यान्सरकै कथा किन छान्नुभयो ?

हो, मसँग थुपै्र कथा थिए। नेपालमा कोइराला परिवारको राजनीति, बलिउडमा मेरो सफलतालगायत अन्य थुप्रै कथा भन्न सक्थेँ। तर, ती सबै कथाभन्दा क्यान्सरको कथा अलग थियो। अरू कथामा धेरै ‘हिरो’ थिए, तर क्यान्सरको कथामा म एक्लो ‘हिरो’ थिएँ। अनि, यी पाँच वर्षमा मैले जीवनको जुन ‘लेसन’ पाएँ, त्यो अरू कुनै कथामा थिएन। क्यान्सरले सिकाएको ज्ञान अरूलाई पनि बताउन मन लागेर ‘हिल्ड’ लेखेकी हुँ।

के ज्ञान पाउनुभयो ?

त्यो थाहा पाउन त किताब नै पढ्नुपर्छ। सामान्यतः यसमा क्यान्सर लागेदेखि त्यसलाई जितेसम्मको कथा पढ्न पाउनुहुन्छ। तर, यो मेरो भावनात्मक र मानिसक यात्राको कथा हो। बलिउड, परिवार आदि विषयमा पनि यसमा अटाएका छन्।

आफूलाई क्यान्सर भएको थाहा पाउँदा तपाईंको ‘रियाक्सन’ के थियो ?

म त्यतिबेला नेपालमै थिएँ। साथीको बहिनीको विवाहको पार्टीबाट घर फर्किरहेकी थिएँ। गाडीमा नै पेटमा दुख्न थाल्यो। तर, अस्पताल जाने बुद्धि आएन। त्यो रात मैले कोल्टे फेरेर नै कटाएँ। बिहानै भाइ सिद्धार्थले नर्भिक अस्पताल लग्यो। त्यहाँ केही चेकअप गरेपछि डा. मधु घिमिरेले पाठेघरको क्यान्सर भएको बताउनुभयो। सुरुमा त मलाई पत्यारै लागेन। तर, डाक्टरसँगै आमाबुबा र भाइ सबैका अनुहार मलिन देखेपछि हो रहेछ भन्ने लाग्यो।
मनमा आएको पहिलो विचार के थियो ?

फोटोः प्रकाश देवकोटा/अन्नपूर्ण

म मर्न चाहन्नँ। मलाई बाँच्नु छ।

अरू केही ? 

सबैभन्दा धेरै त आफ्नै जीवनलाई ‘फ्ल्यासब्याक मोड’मा लगेर हेरिँदो रहेछ। यो जीवनबाट म खुशी थिएँ ? कुन ‘क्वालिटी’को थियो मेरो जीवन ? यस्तै–यस्तै प्रश्न गरिँदो रहेछ। जब आमालाई रोएको देख्थेँ, मन एकदमै कुँडिन्थ्यो। सबैलाई दुःख दिएँ जस्तो लाग्थ्यो। तर, जब म बाँच्न सक्छु भन्ने लाग्यो, त्यसपछि बिस्तारै यस्ता विचार मनबाट हटाएँ।

‘अब बाँचेँ’ भन्ने चाहिँ कति बेला लाग्यो ? 

त्यो त डाक्टरले भनेपछि नै हो ‘कन्फर्म’ हुने। तर, मैले भनेँ नि, मलाई क्यान्सर भयो भन्दा नै मेरो दिमागमा आएको अठोट थियो, म मर्न चाहन्नँ। न्युयोर्कमा लगातार पाँच वर्ष मेरो उपचार भयो। अन्ततः एक दिन डाक्टरले क्यान्सर ठीक भएको घोषणा गरे। तर, सँगसँगै तीन वर्षमा फर्कन पनि सक्छ भनेका थिए। त्यसैले मज्जाले ढुक्क हुन पनि सकिएन। बल्ल आजभोलि बाँचे भन्ने लागेको छ।

डाक्टरको उपचारबाहेक अरू के थियो, जसले तपाईंलाई बचायो ?

त्यो म नै थिएँ। अर्थात्, मेरो आत्मविश्वास र सकारात्मकता। उपचारको क्रममा नै मलाई बोध भयो, म जति सकारात्मक हुन्छु, त्यति चाँडै म यो रोगलाई परास्त गर्न सक्छु। मैले त्यही गरेँ। यसमा मेरो परिवारको पनि ठूलो हात रह्यो। सामान्यतया हामी रोगीसँग धेरै समय बिताउन चाहन्नौँ। किनकि, हामी आफूलाई त्यो रोग र रोगीको ठाउँमा राखेर हेर्न थाल्छौँ। सकस हुन्छ। हामी रोगीबाट टाढा–टाढा भाग्छौँ। यसले बिरामीलाई कमजोर बनाउँछ। तर, यो मामलामा म भाग्यमानी रहेँ। मेरो परिवार मेरो सुखमा र दुःखमा सधैँ साथ रह्यो।

कोही तपाईंले भनेजस्तै पर पर पनि भए होलान् ?

सोचेभन्दा धेरै। बिरामी भएपछि धेरैसँग आशा राखेकी थिएँ। राखिँदो रहेछ। तर, उनीहरूले केही गरेनन्। यही क्रममा मलाई लाग्यो, अपेक्षा पनि हाम्रो दुःखको कारण रहेछ। चिनेको मान्छेले भन्दा नचिनेको मान्छेले धेरै गर्दाे रहेछ।
तपाईंको अभिव्यक्तिको मुख्य माध्यम अभिनय हो। यिनै कुरा तपाईंले अभिनयको माध्यमबाट पनि भन्न सक्नुहुन्थ्यो नि। आफ्नै कथामा फिल्म

बनाऊँ भन्ने लागेन ?

फोटोः प्रकाश देवकोटा/अन्नपूर्ण

अभिनयलाई म राम्ररी चिन्छु तर किताब मेरो ‘फस्ट लभ’ हो। सानो उमेरदेखि नै किताब पढ्थेँ म। फिल्म र किताबको प्रस्तुतिमा भिन्नता पनि धेरै हुन्छ। फिल्मको सीमा हुन्छ। तर, किताबमा ‘डिटेल’मा लेख्न सकिन्छ। म ‘गुड स्टोरीटेलर’ हो कि होइन भन्ने थाहा पाउन पनि किताब लेखेकी हुँ।

अभिनय र किताब लेखनमा कुन चाहिँ सजिलो हुँदो रहेछ ?

अभिनय।

किताब लेख्दा के–कस्ता सकस र दुःखबाट गुज्रिनुभयो ? 

सायद यसमा सबैको आ–आफ्ना भोगाइ हुन्छन्। मेरो सन्दर्भमा चाहिँ मलाई आफ्नो दुःख सम्झेर नै गाह्रो भयो। किताब लेख्दा धेरै पटक रोएँ। एक समयपछि दुःखको कुरा कति गर्ने भन्ने जस्तो लाग्दो रहेछ। यद्यपि, नीलम (सहलेखक) र म मिलेर किताबलाई प्रकाशनयोग्य बनायौँ। अहिले त किताबको प्रतिक्रिया जान्न उत्सुक छु। पढेका मान्छेलाई किताब कस्तो लाग्यो भन्ने सोधेर हैरान पार्ने गरेकी छु।

आत्मकथामा लेखक इमानदार हुन छाडे भनिन्छ। तपाईं कत्तिको इमानदार हुनुहुन्छ ?

म जुन मोडबाट जीवनमा फर्किएको छु, त्यहाँबाट फर्केपछि मैले धेरै कुरा ‘प्रिटेन्ड’ गर्नुपर्छ जस्तो लाग्दैन। अझ यो पुस्तक त विशुद्ध मैले क्यान्सर जित्न गरेको संघर्षको ‘डकुमेन्टेसन’ हो। यसमा म बेइमान हुनुपर्ने कुनै कारण छैन। अनि, यो क्रममा ज–जसले मेरो चित्त दुखाएका थिए, उनीहरूलाई मैले मनमनै माफ गरिसकेकी छु। अहिले म जे हुँ, त्यही सत्यलाई अक्षरमा उतारेकी छु।

बीपी कोइरालाको लेखनको ‘लिगेसी’मा प्रवेश गर्नुभएको छ। अर्को किताब पनि पढ्न पाइन्छ कि ? 

अवश्य पाइन्छ। मेरो दोस्रो किताबको खाका पनि तयार भइसकेको छ। मेरो बुबा प्रकाश कोइरालाले भन्न चाहेका तर भन्न नपाएका धेरै कुरा छन्। हामी बाउछोरी यिनै विषयमा कुरा गर्छौं र त्यसलाई पुस्तकका रूपमा निकाल्नेछाँै। यसको शीर्षक ‘कन्भर्सेसन विद माई फादर’ सोचेकी छु र यसको भाषा पनि नेपाली नै हुन्छ।

क्यान्सरले तपाईंलाई जिन्दगीका धेरै रङ देखायो। अहिले सम्झँदा तपाईंलाई हिरोइन मनीषा ठीक लाग्छ कि ‘सर्भाइभर’ मनीषा ?

मलाई हिरोइन मनीषा ठीक लाग्दैन।

-Annapurna

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account