झोराहाट नाट्य समूह

झोराहाट नाट्य समूह

झोराहाट नाट्य समूह

प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’मा आधारित नाटक केही दिनअघि झोराहाट नाटक घर, मोरङमा देखाइयो। मंसिर २५ देखि ९ दिनसम्म ‘बर्बरिक’ मञ्चन गरिएको थियो। त्यसमा ०४६ सालको जनआन्दोलनदेखि जननेता भण्डारीसँगै अर्का नेता जिवराज आश्रितको दासढुंगा दुर्घटना (०५० जेठ ३ गते)मा निधन भएसम्मका घटनाक्रम पस्किएको छ।

बर्बरिक नाटकले ती दिनको याद दिलाउँछ। दुर्घटना हुनेबित्तिकै ‘हत्या’ भएको दाबी गर्दै एमालेले सडक र सदन तताएको थियो। तर, त्यो घटना भएको दशकौं बितिसक्दा पनि हत्यारा को हुन् भन्ने कुरा नेपाली नागरिकले थाहा पाउन सकेका छैनन्। नेताहरू पनि चुपचाप छन्।

नाट्यकर्मी भरत गुरागाइँको परिकल्पना एवं जीवन बरालको निर्देशन र कलाकारहरूको मिहिनेतका कारण बर्बरिक नाटक जीवन्त बनेको छ। वीर अस्पतालमा उपचार गराइरहेका जनआन्दोलनका कमाण्डर गणेशमान सिंहलाई भेट्न मदन भण्डारी पुगेको दृश्य नाटकमा समावेश गरेर राजनीतिक सहिष्णुता झल्काइएको देखिन्छ।

नाटकमा डेढ दर्जन कलाकार संलग्न छन्। मदन भण्डारी अर्थात बर्बरिकको भूमिकामा नाट्यकर्मी गुरागाइँ, राजा वीरेन्द्रको भूमिकामा प्रयाग न्यौपाने, विद्यादेवी भण्डारीको भूमिकामा दीपा पोखरेल, लेखक प्रदीप नेपालको भूमिकामा सुदीप कार्की, लेखकका काकाको भूमिकामा विमल साम्बहाम्फे र काकीको भूमिकामा अनु श्रेष्ठ छन् भने दरबारको सिआइडीका रूपमा निराशा ढुंगेल। सबैले आ–आफ्नो भूमिकामा न्याय गरेका छन्।

विराटनगरको राजबंशी चोकबाट ७ किमि टाढा छ झोराहाट नाटकघर। नाट्य समूहको आफ्नै जमिन छैन। भाडामा लिइएको जमिनमा नाटकघर बनाइएको हो। त्यहाँ आधा दर्जन कलाकार आवासीयरूपमा बसेर साधना गर्छन्। आर्थिक समस्या छ, टिकटको पैसाले नाटक घरको भान्छा चलाउन समेत पुग्दैन।

बहुदलीय जनवादको अवधारणा ल्याएसँगै मुलुकभित्र र बाहिर समेत चर्चित बनेका लोकप्रिय नेता भण्डारीको हत्या भएको एमालेजनको आरोप छ। यद्यपि दुई तिहाई बहुमतको बामपन्थी सरकार भएका बेला समेत दासढुंगा दुर्घटनाको गम्भीर अध्ययन तथा अनुसन्धान सुरू नहुनुलाई दुःखद् मान्नैपर्छ। मुलुकले तिनै लोकप्रिय नेताकी जीवनसाथी विद्यादेवी भण्डारीलाई राष्ट्रपतिका रूपमा पाएको पनि धेरै भइसक्यो। जनजनले सोधिरहेका छन्– खोइ त हत्याराको खोजी गरेको ?

झोराहाट नाट्य समूहका अध्यक्ष गुरागाइँले नाटक हेर्न नेताहरूको राम्रो उपस्थिति हुने आशा गरेका थिए। तर, उनीहरू आएनन्। ‘गुरू बरालबाहेक अरू नेता आएनन्’, उनले भने, ‘अब हामी छिट्टै काठमाडौंमा बर्बरिक मञ्चन गर्नेछौं।’ आशा गरौं काठमाडौंमा बामपन्थी नेता मात्रै होइन, अरू पनि नाटक हेर्न आउनेछन्।

काठमाडौंको थापागाउँस्थित कुञ्ज थिएटरमा पुस १८ गतेदेखि २८ गतेसम्म हरेक अपरान्ह ४ः३० बजेदेखि बर्बरिक नाटक देखाइनेछ। त्यसका लागि नाट्य दलका सदस्यहरू आइतबार काठमाडौं आउँदैछन्। समूहमा १५ जना कलाकार, दुई जना प्राविधिक र १ जना टिम लिडर छन्।

नेताद्वयका हत्याराको खोजी गर्न बर्बरिक नाटकले झक्झक्याउने आशा गरिएको छ। त्यसबाहेक गाउँमा बसेर साधना गरिरहेका कलाकारको कलाकर्मलाई चिनाउन र आर्थिक आम्दानी गर्ने उद्देश्यले समेत समूहले काठमाडौं ताकेको हो।
उनीहरूले यसअघि काठमाडौंको सांस्कृतिक संस्थानमा दुई दिन ‘पर्खाल’ नाटक देखाएर स्याबासी कमाएका थिए। काठमाडौं पछि लगत्तै इटहरीमा तीन दिन, काँकडभित्तामा एक दिन, बयरवनमा दुई दिन र बिर्तामोडमा पाँच दिन बर्बरिक देखाउन समूहले चुले निम्तो पाइसकेको छ।

समूहको चौंधौं नाटक हो– बर्बरिक। उसले ग्रामीण वस्ती झोराहाटलाई नयाँ पहिचान दिलाएको छ। नाटक घरकै कारण झोराहाट देश÷विदेशमा सुपरिचित बन्दैछ। त्यसो त झोराहाटको नाट्य परम्परा पुरानै हो। बर्माबाट आएका भवानी शंकर पोखरेलले स्थानीयलाई सिकाएर विसं २०१६ सालमै लेखनाथ पौड्यालको ‘लक्ष्मीपूजा’ मञ्चन गराएका थिए। त्यसपछि बर्सेनी बडा दशैंका बेला नाटक देखाउने चलन थियो।

नाट्यकर्मी घिमिरे युवराजको सक्रियता एवं अमेरिकी नागरिक ब्रस पार्डेलको सहयोगमा ०७२ मा नाटक घर बनेसँगै पुरानो परम्परालाई व्यापक र दिगो बनाउने अभ्यास भइरहेको छ। समूहले राम्रा कलाकार जन्माउँदैछ। हलमा एकै पटक डेढ सय जना दर्शक बस्न सक्छन्।

‘सबै उमेर समूहका मानिसमा नाटक हेर्ने बानी बस्दैछ’, नाट्यकर्मी गुरागाइँ भन्छन्, ‘हामी विशेषतः विद्यार्थीलाई आकर्षित गर्छौं।’

नाटक घरमा हरेक महिनाको दोस्रो शनिबार ‘गाउँमा कविता’ कार्यक्रम सञ्चालन गरिन्छ। कार्यक्रम संयोजक प्रयाग न्यौपानेका अनुसार दिउँसो १ बजे चार स्रष्टाका चार–चार कविता सुन्ने÷सुनाउने गरिन्छ। पुस १४ गते (आज) गाउँमा कविताको ३१ औं शृंखला पूरा हुँदैछ। त्यसबाहेक यसले वाङ्मयको विकासमा लागेका साधक र शिक्षासेवीलाई विभिन्न किसिमका पुरस्कार बाँड्छ।

विराटनगर नजिकै राजबंशी चोकबाट ७ किमि टाढा गाउँमा छ, झोराहाट नाटकघर। नाट्य समूहको आफ्नै जमिन छैन। भाडामा लिइएको जमिनमा नाटकघर बनाइएको हो। त्यहाँ आधा दर्जन कलाकार आवासीयरूपमा बसेर साधना गर्छन्। टिकटको पैसाले नाटक घरको भान्छा चलाउन समेत पुग्दैन।

त्यसैले प्रदेश सरकारले झोराहाट नाट्य समूह जस्ता सृजनशील कलाकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्छ। उनीहरूको होस्टेमा हैंसे गर्नुपर्छ। उनीहरूको अभ्यास गर्ने थलो बनाउन जमिन र आर्थिक श्रोत व्यवस्थापन गर्ने दायित्व प्रदेश र स्थानीय सरकारको हो। अब सात वटै प्रदेशमा व्यवस्थित नाटक बन्नुपर्छ।

-Nagarik

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account